RECENT NEWS

Events & Notice

ICT Update

Other Updates

इन्टरनेटको खतराबाट केटाकेटीलाई कसरी जोगाउने ?


— विनयकुमार कसजू
इन्टरनेट प्रयोग गर्न जाने हीरा हो नजाने कीरा हो । सूचना र ज्ञानको यो
खजाना उपयोग गरेर केटाकेटी (बालबालिका र किशोरकिशोरी÷टिनएजर्स ले
विद्यालयको पढाइ, गृहकार्य राम्रो गर्न सक्छन् । साथी र आफन्तसँग च्याट गरेर
सामाजिक सम्बन्धको स्तर र घेरालाई फराकिलो पार्न सक्छन् । तर के यी फाइदाहरु
बालबालिका र किशोरकिशोरीहरुले आफूलाई खतरामा नपारीकन गर्न सक्छन् त ?
इन्टरनेटको फाइदालाई हेर्दा आधुनिक आमाबाबुले आफ्ना केटाकेटीहरुलाई
इन्टरनेटको प्रयोग गर्नबाट रोक्नु पछौटेपन जस्तो लाग्न सक्छ । तर नरोकी नहुने
अवस्था पनि आउन सक्छ ।
तपाईँको घरमा इन्टरनेट हर्न मिल्ने सुविधा छ भने केटाकेटीले के हेर्छन् ?
अथवा त्यसको प्रयोग के कामका लागि गर्छन् ? तपाईँले कहिल्यै विचार गर्नु भएको
छ ? अथवा तपाईँका केटाकेटी साइबरक्याफेमा जान हुरुक्क गर्छ, त्यसको लागि पैसा
माग्छ, स्कुल नगई साइबर जान्छ, साइबर गएर पनि अन्त गएँ भनेर ढाँट्छ भने
पक्कै पनि तपाईँले त्यसलाई खतराको संकेत भनेर बुझ्नु पर्छ ।
केटकेटीलाई इन्टरनेटमा तीन प्रकारका खतरा हुन सक्छन् । पहिलो र गम्भीर
खतरा वयस्क (एडल्ट) वेबसाइट हो जसमा नांगा, अश्लील चित्र, चलचित्र र वृत्तान्त
हुन्छन् । केटाकेटीहरु अनजानमा वा झुक्किएर पनि त्यस्ता वेबसाइट हेर्न पुग्छन् ।
देखेपछि फेरि पनि हेर्न मन लाग्न सक्छ । बानी मात्रै बिग्रन्न मन पनि बिग्रन्छ ।
अर्को खतरा अवांछित इमेल हो । जसको पनि इमेल ठेगानामा स्पाम भनिने
अवांछित इमेल आउन सक्छ । त्यस्ता स्पामहरु कुनै पनि विषयका हुन सक्छन् ।
तिनले सित्तैमा वा सस्तोमा विद्यालयको डिग्री दिनेदेखि धन र यौनमा लाभ्याउन
सक्छन् । खास गरी वयस्कका लागि बनेका वेबसाइटहरुले नयाँ इमेलवालाहरुलाई
फोहोरी वेबसाइटको सम्पर्क (लिंक) पठाउँछन् ।
तेस्रो खतरा च्याट हो । मानसिक विकारयुक्त व्यक्तिहरुले केटाकेटीसँग फोहोरी
कुरा गरेर आनन्द लिन खोज्छन् । त्यस्ता व्यक्ति नक्कली केटाकेटी बनेर च्याटमा
आउँछन् । च्याट गर्ने केटाकेटीलाई ऊसँग च्याट गर्ने व्यक्ति केटा हो कि केटी हो,
कुन उमेरको हो, कहाँको हो भन्ने थाहा हुँदैन । उसले अर्कैको फोटो पठाउन सक्छ ।
सबै कुरा ढाँट्न सक्छ ।
तपाईँका केटाकेटीले अश्लील वेबसाइट हेरेको शंका लागेमा तपाईँले त्यो पत्ता
लगाउने केही उपाय छन् । जस्तै इन्टरनेट सर्भिस प्रदायकमार्फत तपाईँको
एकाउन्टमा कुन समयमा कुन वेबसाइट हेरियो भन्ने थाहा पाउन सकिन्छ । विभिन्न
देशमा वयस्कले मात्रै हेर्ने वेबसाइट केटाकेटीले हेर्न नमिल्ने व्यवस्था गरिएको हुन्छ ।
इन्टरनेट सर्भरमा विशेष शब्दहरु भएका वेबसाइटलाई ब्लक गराउन सकिन्छ ।
इमेलमा अवांछित स्पाम इमेल आउन थाल्यो भने त्यसलाई ब्लग गर्न वा
त्यसबारे तपाईँलाई इमेल फर्वार्ड गरेर जानकारी दिनेजस्ता उपायहरु गर्न सकिन्छ ।
तपाईँको कम्प्युटरमा अवांछित इमेल पुग्नु अगावै रोक्ने इमेल फायरवाल जडान गर्न
पनि सकिन्छ ।
केटाकेटीलाई च्याट गरेर लोभ्याउने व्यक्तिले केटाकेटीको ठेगाना माग्यो वा
भेट्न बोलायो भने अनपेक्षित, अवांछनीय र गम्भीर घटना हुन सक्छ । यसैले
केटाकेटीलाई आफ्नो व्यक्तिगत विवरण, पूरा नाम, ठेगाना, फोन नम्बर, स्कुलको
नाम इत्यादि कहिले पनि दिनु हुँदैन । भेट्न बोलायो भने कुनै पाको र चिनेको
व्यक्तिलाई सँगै लैजानु पर्छ भनेर बेलाबेलामा सचेत गराउनु पर्छ ।
यसबाहेक केटाकेटीले विश्वासिलो साथीलाई आफ्नो इमेल, ब्लग वा
वेबसाइटको पासवर्ड दिँदा उसको नामबाट अश्लील चिठी र फोटो अरुको इमेलमा
जानसक्छ । कतिपय विद्यार्थी लाजमर्दो अवस्थामा परेर विद्यालयबाट निस्कनु परेको
छ ।
विश्व दूरसंचार संघले गरेको एउटा अध्ययनअनुसार विश्वमा औसत साठी
प्रतिशतभन्दा धेरै केटाकेटीहरु दिनदिनै च्याट गर्छन् । त्यसरी च्याट गर्नेहरु चार
जनामध्ये तीन जनाले कुनै सेवा वा सामानको बदलामा आफ्नो र परिवारको निजी
जानकारीसमेत साटासाट गर्छन् । अनि पाँच जनामध्ये एक जना बच्चा बाल यौन
शोषकको शिकार बन्छ ।
सन् २००५ मा सम्पन्न सूचना समाज विश्व सम्मेलनमा बालबालिकालाई
अनलाइनबाट फँसाउने यौनशोषकहरुबाट जोगाउन सूचना तथा संचार प्रविधिलाई
कसरी प्रयोग गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको थियो । त्यसैको परिणाम
स्वरुप यो वर्ष मे १७ (जेठ ३) को दिन मनाइने विश्व दूरसंचार दिवसलाई
बालबालिकालाई साइबरस्पेसमा कसरी सुरक्षित गर्ने भन्ने विषय छानेको छ ।
केही देशमा केटाकेटीले चलाउने कम्प्युटरमा अश्लील वेबसाइटको निगरानी
गर्ने तथा रोक्ने सफ्टवेयर जडान गर्नुपर्ने अनिवार्यता छ । तर नेपालमा अहिलसम्म
यास्तो व्यवस्था भइसकेको छैन ।
आफ्ना केटाकेटीलाई सूचना र संचार प्रविधिले उपलब्ध गराएको सुविधा र
फाइदाबाट बंचित नगरीकन उनीहरुलाई खतरनाक मिडियाबाट जोगाउने सबैभन्दा
उत्तम र जरुरी उपाय हो निगरानी र संवाद । जसरी तपाईँ आफ्नो बच्चाको
पढाइको बारेमा चासो लिनु हुन्छ र बेलाबेलामा ऊसँग कुराकानी गरिराख्नु हुन्छ
त्यसरी नै उसले हेर्ने टेलिभिजनका कार्यक्रम र वेबसाइटका बारेमा कुराकानी गर्नु
पर्छ । ऊ कुन कुरा रुचाउँछ, के हेर्दा रमाउँछ भन्ने कुरा तपाईँले सोध्नु भयो भने ऊ
अवश्य सतर्क हुन्छ । मेलै के हेर्छु भन्ने कुरामा मेरा आमाबाले निगरानी गर्नु हुन्छ
भन्ने थाहा पाउनु उसको लागि नै हितकर हुन्छ । यसले आधा समस्या समाधान गर्न
सक्छ ।

नागरिक दैनिकः २०६६ असार १ गते प्रकाशित ।

Post a Comment

 
Copyright © 2015 Gardi Community Library & Resource Centre
Run By ICT Section of Gardi Library. Design by Fine Creation. Hosted by Google Blog