RECENT NEWS

Events & Notice

ICT Update

Other Updates

एक्कइसौँ शताब्दीको शक्ति : सूचना र ज्ञान


— विनयकुमार कसजू

“सूचना÷ज्ञान अति द्रुत गतिले संसारकै सबैभन्दा बहुमूल्य साधन बन्दैछ । ज्ञानले सम्पत्तिको सिर्जना गर्दैछ । यसअघि भूमि÷खेत÷खानी, श्रम र पूंजी सम्पन्नताको आधार थियो भने अब ज्ञानले नै त्यो ठाउँ लिँदैछ । सूचनाको निर्वाध प्रवाहलाई रोक्न खोज्ने देशहरूले आफैलाई अविकसितता÷अन्धकारतिर धकेल्नेछन् ।” — एडवार्ड कोर्निस, भविष्यविद

एक्कइसौँ शताब्दीको आरम्भसँगै मानवजातिको प्राथमिकता फेरिएको छ । अहिलेको विश्वमाराजनीति, अर्थतन्त्र, शिक्षा आदि सबै कुरालाई सूचना र ज्ञानले डोर्याइरहेको छ । राजनीतिक शक्तिप्राप्त गर्न होस् कि धनवान बन्न होस् वा विद्वान् बन्न होस् सबैका लागि सूचना र ज्ञान चाहिन्छ । यसैले संचार शक्ति प्रमुख शक्तिको रूपमा विकसित हुँदैछ । मानिसका अरू अधिकारका लागि पनिसूचना र संचारको अधिकार अपरिहार्य बन्दैछ । यसैले सूचना र संचारको अधिकार अरू अधिकारभन्दा महत्वपूर्ण बनेकोछ । ढुंगे युगमा मानिसले ढुंगाबाहेक अरू कुनै पनि औजार प्रयोग गर्न जानेका थिएनन् । त्यस बेला जीवन धान्ने आधार शारीरिक बल अथवा हिंसा नै थियो । निर्बलको बाँच्ने सम्भावना थिएन । लडेर वा ढुंगाले हानेर अरू जीवलाई मार्न सके बाँच्न सकिन्थ्यो । मानिसका विभिन्न समूहहरूबीचको सम्बन्धको आधार पनि हिंसा नै थियो । हिंसा नै बाँच्ने, अरूलाई नियन्त्रण गर्ने, आफ्नो कुरा अरूलाई मनाउने, कज्याउने एक मात्र शक्ति थियो । खेतीपाती गर्न थालेपछि मानिसको शक्तिको आधार फेरिन थाल्यो । समाज बन्यो । सामाजिक नियम, चालचलन, रितिथिती बने, मूल्यमान्यता विकसित भए । मुखिया बने । राजा बने । राज्य बने । बिस्तारै हिंसाको शक्तिले पनि सामाजिक मान्यता लिनु पर्ने अवस्था आयो । व्यक्ति वा परिवारले हिंसा शक्ति प्रयोग गर्न नपाउने तर राज्यशक्तिले हिंसा प्रयोग पाउने नियम बन्यो । विस्तारै अतिरिक्त उत्पादन साट्ने र बेच्ने चलन चल्न थाल्यो । वस्तु र सेवा लिनदिन मूल्य तोक्नु पर्ने भयो । मुद्रा वा पैसाको आविष्कार भयो । विस्तारै पैसा वा सम्पत्ती शक्तिशाली बन्दै गयो । सम्पत्तीको रूप विकसित हुँदै फेरिँदै गयो । कृषि समाजमा पशुधन, जग्गाजमिन र श्रमको महत्व थियो भने उद्योग र व्यापारको युग सुरु भएपछि पूँजी र बजारको शक्ति बढ्यो । शक्तिको आधार हिंसाबाट फेरिएर पैसामा सर्यो । पैसा यति शक्तिशाली बन्दै गयो कि राज्यको शक्ति कमजोर हुँदै गयो । अन्तर्राष्ट्रिय, क्षेत्रीय, बहुपक्षीय संगठनहरू, सन्धिसम्झाताहरू, विश्व बैँक, अन्तर्राष्ट्रिय मुद्रा कोषजस्ता अन्तर्राष्ट्रिय निकायहरू, बहुराष्ट्रिय कम्पनीहरू राष्ट्रराज्य (नेसन स्टेट्स) भन्दा शक्तिशाली बन्दै गए । पृथ्वीका अन्य प्राणीको शारीरिक परिवर्तन वा विकास मात्रै हुनु तर मानिसको शारीरि  परिवर्तनका साथै समाज, राष्ट्र र अन्तर्राष्ट्रिय समुदायको विकास हुनुको कारण के हो ? यसको पहिलो र प्रमुख कारण मानिसले भाषाको प्रयोग गर्नु नै हो । भाषाले गर्दा मानिसले बिचार आदानप्रदान गर्न, उपयोगी अनुभव सुनान र सुरक्षित गर्न तथा भावी पुस्तालाई हस्तान्तरण गर्न सक्यो । अनुभव अर्थात सूचना र ज्ञान बटुल्ने, सुरक्षित गर्ने, चाहेको बेलामा प्रयोग गर्ने र चाहेको व्यक्ति वा स्थानलाई संप्रेषण गर्ने काम मानिसबाहेक अरू कुनै प्राणिले गर्न सकेको छैन । यदि त्यसो गर्न सकेको भए पृथ्वीमा मानव समाज र सभ्यताको समानान्तरमा अरू जीवको पनि समाज र सभ्यताको विकास हुनेथियो । हिंसक शक्तिको परित्याग वा राज्यबाहेक अरूलाई हिंसाको प्रयोग गर्ने वैधानिक अधिकार नहुनु मानव सभ्यताको विकासको अर्को प्रमुख कारण हो । पशुले पेट भर्न, सन्तानोत्पादन गर्न र सुरक्षित हुन हिंसाको प्रयोग गर्छ । किनकि ऊसँग पैसा पनि छैन, सामाजिक नियमकानुन, मूल्यमान्यता पनि छैन र राज्य शक्ति पनि छैन । पशुसँग ज्ञानको शक्ति हुने कुरा पनि भएन । तर मानिससँग धेरै प्रकारका शक्ति छन् । सामाजिक नियम, मूल्यमान्यता, परम्पराको प्रयोग गरेर वा पैसाको प्रयोग गरेर साथै राज्यशक्तिको प्रयोग गरेर पनि मानिसले भोक मेट्न, यौनेच्छ पूरा गर्न (सन्तोनोत्पादन), सुरक्षित, निरोगी र शिक्षित हुन, सुख, सुविधा प्राप्त गर्न सक्छ । मानिसले प्रयोग गर्दै आएको हिंसा, पैसा, सत्ता सबैको पछाडि कुनै न कुनै रूपमा सूचना ज्ञानको प्रयोग भएकोछ । ढुंगे युगमा चरा वा जानवरलाई मार्न पनि उसले अरू प्राणीले भन्दा बेग्लै दिमागी शक्तिको प्रयोग गर्न थालेको थियो भने अहिले परमाणु बमदेखि विश्व ध्वस्त गर्न सक्ने क्षेप्यास्त्र र परमाणविक हतियारसम्म सूचना र ज्ञानको प्रचुर मात्रामा प्रयोग भइरहेको छ । यही कुरा उद्योगधन्दा, व्यापार गरेर अकूत सम्पत्ती कमाउने कुरामा पनि लागू हुन्छ । बीसौँ शताब्दीको मध्यसम्म हिंसा र पैसाको शक्ति प्राप्त गर्न वा बढाउन ज्ञानको उपयोग गरिन्थ्यो र हिंसा र पैसाबाट ज्ञानलाई खरिद गर्न वा नियन्त्रणमा राख्न सकिन्थ्यो भने त्यसपछि ज्ञान स्वयं अन्य दुई शक्ति — हिंसा र पैसा — भन्दा शक्तिशाली बन्न थाल्यो । अब जो संग धेरै ज्ञान छ उसले हिंसा र पैसालाई पनि नियन्त्रण गर्न सक्ने भएको छ । पच्चीस वर्षअघिका विश्वका सबैभन्दा धनाढ्य व्यक्तिको र अहिलेका बीस जना सर्वाधिक धनी व्यक्तिहरूको पृष्ठभूमिलाई हर्यौँ भने यो कुरा छर्लंग हुन्छ । अब मानिस फर्केर फेरि प्राकृतिक जीवन बाँच्न सक्तैन । मानिसलाई समाजिक प्राणी भन्नुको मुख्य आशय नै उसको शक्ति हो । हरेक व्यक्ति जन्मँदा नै जात, क्षेत्र, लिंग, धर्म, भाषा, आदि विभिन्न आधारमा, भिन्नभिन्न शक्ति लिएर जन्मन्छ । कतिपय परिवारमा अहिले पनि जेठा र कान्छा सन्तानको अधिकार र कर्तव्य गर्भमै निर्धारित भएको हुन्छ । पशुपंछीमा यस्तो शक्ति सन्तुलन वा ठाडो भाषामा भन्दा पक्षपात हुँदैन । यसैले समाजमा कामको विभाजनको आधार शक्ति हो ।

मानव सभ्यताको इतिहासमा अहिले सम्म त्यसले तीन वटा शक्तिको मात्रै प्रयोग गरेको
देखिन्छ ः हिंसा शक्ति, सम्पत्तीको शक्ति र ज्ञानको शक्ति । मानिस सभ्य हुँदै जाँदा उसले हिंसाको
शक्तिलाई कम गर्ने, नियन्त्रण र नियमन गर्ने काम बढाइरहको छ । सम्पत्तीको शक्तिलाई पनि
त्यसले राष्ट्रिय नियम कानुन तथा अन्तर्राष्ट्रिय र क्षेत्रीय सन्धि सम्झौताद्वारा नियमन गर्ने प्रयास
गरिरहको छ । ज्ञानलाई नियन्त्रित गर्ने प्रयास पनि धेरै अघिदेखि नभएको होइन । नारी र शुद्रले
शास्त्र पढ्न हुँदैन भन्ने भनाइदेखि राणा कालमा पुस्तकालय खोल्न नपाउनेसम्मका धेरै उदारण हाम्रै
देशमा छन् । कुनै पनि देशमा तानाशाहहरू जन्मने बित्तिकै सबैभन्दा पहिले सूचना र ज्ञानमा
नियन्त्रण गर्न खोज्छन् । तर ज्ञानको शक्तिको नियन्त्रण, नियमन, व्यवस्थापनको विषय यस्तो विषय
हो जसबारे मानिसले अहिलेसम्म सार्थक उपाय सोच्न सकेको छैन । यसका विभिन्न कारण छन् ।
प्रमुख कारण हो सूचना तथा संचार प्रविधिको अकल्पनीय विकास ।
सूचना तथा संचार प्रविधिको प्रयोग गरेर कुनै पनि व्यक्तिले संसारको कुनै पनि भागमा
बसेर संसारको अर्को कुनै पनि ठाउँमा बस्ने मानिससँग संचार गर्न सकछ । यसको माध्यमबाट कुनै
पनि डेटा, सूचना वा ज्ञान प्राप्त गर्न र पठाउन सकछ । प्राप्त सूचनालाई प्रशोधन, भण्डारण र पुनः
प्रयोग गर्न सक्छ । अहिलेसम्म विकास भएका संचार प्रविधिहरूमध्ये यो प्रविधि सबैभन्दा सस्तो र
सजिलो पनि छ । यो प्रविधिको प्रयोग गरेर निरक्षर, आँखा नदेख्ने, कान नसुन्नेहरूले पनि सूचना र
ज्ञान प्राप्त, सिर्जना संप्रेषण गर्न सक्छन् ।
यसको प्रभाव जीवनका विभिन्न क्षेत्रमा पर्न थालिसकेको छ । यसले विश्वभरि विद्यमान
राजनीतिक सोच, व्यवस्था र व्यवहारलाई परिवर्तनका लागि हाँक दिइरहेको छ । प्रतिनिधिमूलक
शासन व्यवस्थाबाट सहभागितात्मक व्यवस्थाको अपरिहार्यतालाई यसले प्रेरित गरिहरको छ ।
पारदर्शिता र सुशासनजस्ता लोकतन्त्रका चरित्रहरूलाई साकार पार्न यसले सम्भव तुल्याएको छ ।
यसले आमनागरिक, राजनीतिक नेता तथा सरकारहरूलाई नयाँनयाँ अवसरहरू प्रदान गरिरहको छ
सूचना तथा संचार प्रविधिले सूचना र ज्ञान पाउने र फैलाउने काममा मात्रै होइन, शिक्षा,
स्वास्थ्य, उद्योग, व्यापार, यातायात, बैंकिङ, मनोरंजनलगायत मानव जीवनका सबै गतिविधि र
पक्षलाई फेर्दैछ । साथै यसले राज्य संचालन, राज्यले जनतालाई दिने सेवा तथा राज्यलाई जिम्मेवार
बनाउने, शासनमा जनताको सक्रिय सहभागिता बढाउने र सुशासनमा पनि महत्वपूर्ण भूमिका
खेल्न थालेको छ । नेपालजस्तो भौगोलिक विषमता भएको, उद्योग र व्यापारका लागि खानी र
जलमार्ग नभएको, आर्थिक विपन्नता, शैक्षिक पछौटेपन, बेरोजगारीले ग्रस्त मुलुकका लागि सूचना
तथा संचार प्रविधिले अभूतपूर्व अवसर प्रदान गरेको छ । साथै संघीय राज्य बन्ने मेसोमा नेपाललाई
एक सूत्रमा बाँध्ने मुख्य साधन यही सूचना र संचारको संजाल नै हुने स्पष्ट छ ।
आईसीटीले कृषि र उद्योगमा आधारित परम्परागत समाजलाई सूचना समाजमा फेर्न सक्छ
। सूचना समाजका सदस्यहरू जीविकोपार्जनका परम्परागत व्यवसायभन्दा माथि उठेर सूचना र
संचार तथा योसँग सम्बन्धित प्रविधि र यन्त्रउपकरणको उत्पादन, व्यापार र सेवामा लागेर आफ्नो
चेतना र जीवनस्तरलाई पनि माथि पुर्याउन सक्छन् । ज्ञान र सूचनाले सम्पन्न नागरिकरुको
दृष्टिकोण फराकिलो र सहिष्णु हुन्छ । ऊ सम्प्रयाद, धर्म, जातजाति, वर्ण, क्षेत्रको संकुचित घेरामा
अल्झिँदैन । फलस्वरूप ऊ विश्वकै नागरिक बन्न योग्य हुन्छ । ऊ जहाँ पनि अटाउँछ । संसारको
जुन ठाउँमा बसे पनि ऊ भोकै मर्नु पर्दैन । यस्तै नागरिहरूको हातमा नयाँ नेपालको निर्माण,
विकास र दिगो शान्ति सुनिश्चित, सुरक्षित र प्रत्याभूत हुन्छ ।
विश्वका कुनै पनि लोकतान्त्रिक र लोककल्याणकारी राज्यव्यवस्था अपनाउन चाहने देशका
सरकारसँग सूचना तथा संचार प्रविधिलाई अंगाल्नु, यसकालागि पूर्वाधार तयार तयार पार्नु र यसको
विकासका लगि उदार र स्वतन्त्र वातावरण तयार गर्नु बाहेक अरू कुनै विकल्प छैन । जनताको
हितमा काम गर्ने कुनै पनि राज्यले अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक तथा सूचना र संचारका
साधनहरूको उपयोग गर्ने वातावरण बनाएर मात्रै पुग्दैन । सूचनालाई जीवनस्तर उकास्ने, गरिबीको
दुष्चक्रबाट बाहिर निस्कने र शान्ति र लोकतन्त्रलाई बलियो बनाउनका लागि सूचना र संचार
नीतिलाई उदार र जनमुखी बनाउनु आवश्यक हुन्छ ।
दुई सय वर्षअघि नै अमेरिकाका चौथो राष्ट्रपति जेम्स म्याडिसनले (सन् १८०९ — १८१७)
भनेका थिए, “लोकप्रिय सूचना बिना वा त्यो प्राप्त गर्ने उपाय बिना एउटा लोकप्रिय सरकारको
कुरा गर्नु भनेको हास्य नाटक वा दुखान्त नाटक वा दुबै नाटकको पूर्वालाप हो । ज्ञानले सँधै
अज्ञानतामाथि शासन गर्नेछ । आफ्नो शासक आफै बन्न चाहने मानिसहरूले आफूलाई सूचना र
ज्ञानले दिने शक्तिले समपन्न बनाउनु पर्छ ।”
अहिले हामी एक्काइसौँ शताब्दीको प्रारम्भिक चरणमा छौँ र सूचना र संचारको शक्तिको
प्रारम्भिक प्रभाव अनुभव गर्न थालेका छौँ । यही बेला नयाँ नेपाल बनाउने ऐतिहासिक जिम्मेवारी
हाम्रो काँधमा आएको छ । निश्चय नै नयाँ नेपाल बनाउन धेरै कुरा चाहिन्छ । तर कुनै पनि राष्ट्र
निर्माणको लागि अहिले सबैभन्दा महत्वपूर्ण कुरा सूचना र ज्ञान हो भन्ने कुरा बिर्सनु हुँदैन । यसको
उपयोग गर्न सके मात्रै समुन्नत र अग्रगामी नेपाल बन्न सक्छ ।
धन्यवाद ।
‘सिफारिस’ इएमआईको मासिक प्रकाशन, जेठ, २०६६ मा प्रकाशित ।

Post a Comment

 
Copyright © 2015 Gardi Community Library & Resource Centre
Run By ICT Section of Gardi Library. Design by Fine Creation. Hosted by Google Blog