ओएस नेपाल, माडी, २७ मंसिर । माडीको गर्दीमा रहेको सामुदायिक पुस्तकालयले गाउँगाउँमा किसानहरुलाई तरकारीखेती र पशुपालनसम्बन्धी ज्ञान दिने अभियान चलाउन थालेको छ । पुस्तकालयमा किसानका लागि उपयोगी पुस्तक र श्रव्यदृश्य सामग्रीहरु पनि छन् । तर, घरदैलोमा नै पुगेर तालिम पनि दिने गरिएको छ ।‘पुस्तकालयमा पनि तरकारीखेती, पशुपालन, कुखुरापालनसँग सम्बन्धित किताब, अडियो–भिडियो सामग्रीहरु छन् । किसानहरुले पुस्तकालयमा गएर पनि धेरै ज्ञान लिने गरेका छन् । यसका साथै हामी घरआँगनमा नै गएर तालिम दिने गर्छौं’, गर्दी सामुदायिक पुस्तकालयका अध्यक्ष भागीरथ तिमिल्सिनाले भने । गत हप्तामात्रै गर्दीका किसानका लागि तरकारी बालीमा लाग्ने रोग कीरा नियन्त्रण र गड्यौला मल बनाउने तालिम दिएको अध्यक्ष तिमिल्सिनाले बताए । कुनै तालिमहरु एक दिनका हुन्छन्, कुनै तालिमहरु तीन दिनसम्मका हुने गर्छन् । पुस्तकालयकै आयोजनामा पशुस्वास्थ्य शिविर र कुखुरापालनसम्बन्धी तालिम पनि हुने गरेको छ । पुस्तकालयले छजना अगुवा किसानहरु तयार गरेको छ । गाउँमा उनीहरुले नै तालिम सञ्चालन गर्दछन् । विशिष्ट तालिमहरुमा विज्ञहरुलाई समेत बोलाएर कार्यक्रम सञ्चालन गर्ने अध्यक्ष तिमिल्सिनाले जानकारी दिए । तालिम र शिविरहरु सामान्य खर्चमा सञ्चालन हुने भएकाले किसानहरुलाई अतिरिक्त भार नपर्ने उनले बताए । यसका साथै तालिम चलाउन भनेर अन्य संघसंस्थामा पूरै निर्भर हुन पनि नपरेको तिमिल्सिनाको भनाइ छ । ‘धेरै खर्चिलो हुँदैन, आफ्नै स्थानीय अगुवा किसानहरुले सिकाउने हुन् । खर्च कम हुने भएकाले अन्य संघसंस्थामा निर्भर रहन पनि आवश्यक भएन’, अध्यक्षले जानकारी दिए । गर्दीका शालिकराम न्यौपानेले तरकारीखेतीसम्बन्धी तालिम दिने गरेका छन् । यज्ञप्रसाद तिवारीले कोसेबालीसम्बन्धी तालिम दिने गर्दछन् । धनेश्वर महतोले गड्यौला मल बनाउने विधि सिकाउने गरेका छन् । विश्वनाथ महतोले तरकारीको नर्सरी तयार गर्ने र बेर्ना रोप्ने विधिका बारेमा गाउँलेहरुलाई जानकारी दिने गरेका छन् । ईश्वरी भट्टराई र श्री सुवेदी पनि तरकारीखेतीसम्बन्धी गाउँलेहरुलाई ज्ञान बाँड्दै हिँड्ने गर्छन् । गत वर्ष यस्ता १६ वटा तालिम सञ्चालन भए । यो वर्ष अहिलेसम्म १२ वटा तालिम सञ्चालन भएको अध्यक्ष तिमिल्सिनाले जानकारी दिए । पुस्तकालय बनेपछि पढ्ने बानीको विकास हुनुका साथै तालिमले स्थानीयको पेसागत जीवनसँग पनि जोड्न सकेको तिमिल्सिना बताउँछन् ।
- See more at: http://www.osnepal.net/52726#sthash.GRZDjRae.dpuf
- See more at: http://www.osnepal.net/52726#sthash.GRZDjRae.dpuf
Post a Comment