RECENT NEWS

Events & Notice

ICT Update

Other Updates

माडीको गर्दी सामुदायिक पुस्तकालयमा पाठकहरुको लहर बढ्दो

एक घर एक सदस्यको अवधारणा सहित माडीको बरुवा बजारमा स्थापित गर्दी सामुदायिक पुस्तकालयमा दैनिक सयौं पाठकहरुको घुइँचो लाग्न थालेको छ । माडीवासीहरुमा पढ्ने संस्कृतिको बिकास गरी शिक्षा, सुचना र ज्ञान प्रवाह गर्ने उद्देश्य सहित स्थापना भएको यस पुस्तकालयमा स्थानीय संस्थागत विद्यालयका विद्यार्थीहरु र बृद्धबृद्धाहरुको बाक्लो उपस्थिति देख्न थालिएको हो । बरुवाको रामेश्वर शिवमन्दिर परिसर भित्र १० धुर जग्गामा बनेको दुईतले पुस्तकालय भवनमा विभिन्न किसिमका पुस्तक तथा पत्रपत्रिकाहरुका अलावा प्रतिवेदन, पोष्टर, नक्सा, विश्वकोष, श्रब्य–दृश्य, खेलकुद सामग्री लगायतको उपलब्धता छ भने निकट भबिष्यमै सुचना प्रबिधी कक्ष समेत थप गरिन लागिएको छ ।
गर्दी गाउँ विकास समितिबाट ३ लाख ४६ हजार, जिल्ला विकास समिति चितवनबाट ९ लाख ५० हजार, संसद विकास कोषमार्फत तात्कालीन सभासद अमिक शेरचनबाट ५० हजार तथा रिड नेपाल नामको दातृसंस्थाबाट करीब ३६ लाख र अन्य सहयोग रकम सहित कुल ५१ लख ५८ हजार रुपैंयाको लगानीमा पुस्तकालयको वर्तमान स्वरुप निर्माण गरिएको समितिका अध्यक्ष भरत तिमिल्सिनाले जानकारी दिनुभयो । पुस्तकालयको लाइब्रेरी सेक्सनमा हाल २ हजार ४ सय, बालबालिका सेक्सनमा ७ सय, युवा तथा महिला सम्बन्धि २ सय पुस्तकहरु संकलित रहेको पुस्तकालयले जनाएको छ ।
२०३३ सालमा पुस्तकालयको अवधारणा आएपछि सुरुमा धार्मिक तथ ऐतिहासिक पुस्तक र पत्रपत्रिकाहरु संंकलन गरी इलाका हुलाक कार्यालय, हरिनगरको कोठाबाट काम सुरु गरिएकोमा २०५२ सालमा पुस्तकालय भवनको शिलान्याश गरिएको थियो । २०६४ सालमा विधिवत रुपमा दर्ता पाएको यस पुस्तकालय २०६७ श्रावण २६ गते उद्घाटन भएसंगै सञ्चालन र व्यवस्थापनका लागि दुईजना कर्मचारी क्रियाशील छन् । पुस्तकालको खर्च व्यवस्थापन र दीगोपनाका लागि व्यवस्थापन समितिले गर्दी–९ कल्याणपुरमा ४ बिगाहा क्षेत्रफलमा माछापालन सुरु गरिने भएको छ भने च्याउ खेती तथा महिला सहकारीहरुको सञ्चालन समेत गर्ने तयारी गरेको अध्यक्ष तिमिल्सिनाले जानकारी दिनुभयो ।

Post a Comment

 
Copyright © 2015 Gardi Community Library & Resource Centre
Run By ICT Section of Gardi Library. Design by Fine Creation. Hosted by Google Blog